लक्ष्मी बैंकको दोस्रो त्रैमासको प्रगति सन्तोषजनक, ब्याज खर्च अत्याधिक

लक्ष्मी बैंकको दोस्रो त्रैमासको प्रगति सन्तोषजनक, ब्याज खर्च अत्याधिक

Jan 23, 2018Merolagani 


गतबर्ष बैंकहरुमा देखिएको लगानीयोग्य रकमको अभावसँगै ब्याजदरमा गरिएको वृद्धिको प्रभाव यसबर्षको वित्तीय विवरणमा देखिएको छ । लक्ष्मी बैंक (LBL) ले प्रकाशित गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार उसको ब्याज आम्दानी गतबर्षको तुलनामा ७१ प्रतिशतले बढ्दा ब्याज खर्च १०१ प्रतिशतले बढेको छ । जसले गर्दा बैंकको नाफा उल्लेखीय रुपमा बढ्न सकेन ।  

लक्ष्मी बैंकले पुष मसान्तसम्ममा ५१ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा २७.७७ प्रतिशत बढी हो । बैंकले गतबर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख खुद नाफा गरेको थियो । 
बैंकको संचालन मुनाफ, ब्याज आम्दानी तथा नियमित कारोबारबाट हुने आम्दानी बढेपछि नाफामा बढोत्तरी आएको हो । तर बैंकको ब्याज खर्च, कर्मचारी खर्च लगायतका खर्च भने बढेका छन् ।
दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ९९ करोड ९८ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी २८.७६ प्रतिशतले बढेको छ ।
बैंकले यसअवधिसम्म ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप ८.५० प्रतिशत तथा कर्जा लगानी १७.७९ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलनको अनुपातमा कर्जा लगानीको अनुपात बढेपछि कर्जा निक्षेप अनुपात सिडि रेशियो ७७.९३ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकलाई थप कर्जा विस्तार गर्न निक्षेप बढाउनु पर्ने बाध्यता छ ।
बैंकको अधार ब्याजदर १०.८८ प्रतिशत पुगेको छ भने कोषको लागत समेत ५.२५ प्रतिशतबाट बढेर ७.४२ प्रतिशत पुगेको छ ।
बैंकको पूँजीको आकार बढेपनि निष्क्रिय कर्जाको आकार भने केही घटाएको छ । यसअवधिमा बैंकको खराब कर्जा १.२९ प्रतिशत छ । गतबर्ष यस्तो अनुपात १.३१ प्रतिशत थियो  । गतबर्षको तुलनामा खराबकर्जाको असुली केही कम भएपनि यसपालि भने जोखिम वापतको व्यवस्थापन खर्च भने घटाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी १३.२३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १९.८० गुणा, प्रतिशेयर नेटवर्थ १२२.९४ रुपैयाँ र तरलता अनुपात २१.५६ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषम एक अर्ब ८८ करोेड रुपैयाँ छ। बैंकको जगेडा कोषको आकारमा पनि गिरावट आएको छ । बैंकले गतबर्षको मुनाफाबाट दश प्रतिशत लाभांस वितरण गरेकाले जगेडाकोषको आकार घटेको हो ।

Comments